काठमाडौंको नयाँ बानेश्वर चोकमा ट्राफिक लाइट जडान सुरु

January 1, 2018    9:23 pm   

राजधानीको नयाँ बानेश्वरमा ट्राफिक लाइट सञ्चालनलाई आवश्यक पर्ने सोलार प्यानल जडान गरिँदै । तस्विर: उन्नत सापकोटा/प्रोपर्टी टूडे

महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग र काठमाडौं महानगरपालिकाको संयुक्त प्रयासमा राजधानीको नयाँ बानेश्वरमा सोलारबाट चल्ने ट्राफिक लाइट जडानको काम अघि बढेको छ । पुष १७ गते सोमबार साँझबाट ट्राफिक लाइटका लागि आवश्यक पर्ने सोलार प्यानल जडानको काम भएको छ । ट्राफिक लाइट जडानको काम अबको एक साताभित्रै सम्पन्न हुने बताइएको छ । अहिले महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग र काठमाडौं महानगरपालिका मिलेर करिब एक दर्जन स्थानमा सडक लाइट राख्न लागेका हुन्, जसको सम्पूर्ण जिम्मा स्वदेशी कम्पनी यार्सा टेक्नोलोजीले पाएको थियो ।

काठमाडौं उपत्यकाका सडकमा ट्राफिक लाइट जोड्ने एशियाली विकास बैंक (एडीबी) को परियोजनाको अवधि कामै नभइ सकिएपछि अहिले स्थानीय पहलमै यसलाई अघि बढाइएको हो । जबकि यसअघि एडीबीको सहयोगमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको ‘काठमाडौं दिगो सहरी यातायात आयोजना’अन्तर्गत अघि बढेको परियोजना ६ वर्षको अवधिमा तीनपटक बोलपत्र आह्वान मात्र गरेर अन्य कुनै पनि काम नभइ बितेको थियो । एडीबीको २१ प्रतिशत सहुलियत कर्जा तथा ५१ प्रतिशत अनुदान सहयोगमा काठमाडौंका २१ सडक जङ्सनहरुमा आइटीएस (इन्टेलिजेन्ट ट्राफिक सिग्नलाइजेसन) प्रणालीका अत्याधुनिक ट्राफिक लाइट राख्न खोजिएको उक्त परियोजनाको अवधि २०६८ सालबाट सुरु भइ गत असार १६ गते सकिएको थियो ।

यसअघि जापान सहयोग नियोग (जाइका) को सहयोगमा उपत्यकाका मुख्य सडकहरुमा ट्राफिक लाइट जडान गरिएका थिए । महानगर ट्राफिक कार्यालयका अनुसार, त्यसबेला काठमाडौं उपत्यकाका ३७ जङ्सनमा ट्राफिक लाइटहरु राखिएका हुन् । तीमध्ये अहिले भक्तपुरको दुई ठाउँमा रहेकाले मात्र काम गरिरहेका छन् । अन्य सबै स्थानका ट्राफिक लाइट विगत ६ वर्षदेखि नै बिग्रिएका हुन् । तर, आइटिएस सिस्टमका लाइट जडान गर्ने ध्याउन्नमा हालसम्म यसको मर्मत सम्भारतर्फ चासो देखाइएको थिएन ।