सिमेन्ट उद्योगबीच अब ‘प्राइस वार’

पछिल्ला केही वर्षयता ठूला पूर्वाधार परियोजनाहरुको निर्माण अघि बढ्ने चर्चा बढेको छ । सरकारका केही आयोजना निर्माणको चरणमा गइसकेका छन् । निजीक्षेत्रबाट थुप्रै साना तथा मझौला जलविद्युत् परियोजना निर्माण भइरहेका छन् । ठूला केही जलविद्युत् आयोजना निकट भविष्यमै निर्माणमा जाने अपेक्षा बढेको छ । होटलमा स्वदेशी/विदेशी लगानीको आकर्षण २–३ वर्षयता असाध्यै बढेर गएको छ । दजनौं तारे होटल अहिले निर्माणाधीन छन् । अझ साना तथा मध्यमस्तरका होटल देशभर सयभन्दा बढीको संख्यामा बनिरहेका छन् । सडक निर्माण तथा विस्तारको काम चौतर्फी चलेको छ । विकास पूर्वाधार निर्माणको अपेक्षामा गाउँ शहरोन्मुख र शहरोन्मुख ठाउँ तीव्र शहरीकरण भइरहेका छन् । रियल इस्टेट कम्पनीहरु धमाधम नयाँ हाउजिङ परियोजना ल्याउँदै छन् । सरकारी अभिलेखले व्यक्तिगत स्तरबाट पनि घर बनाउने क्रम बढेको देखिन्छ । अर्कोतर्फ भूकम्पपछिको पुनर्निर्माणमा मात्र करिब १० खर्ब रुपैयाँ खर्च हुने अनुमान छ । समग्रमा देशमा निर्माण गतिविधिले रफ्तार समात्दै गरेको दृश्य देखिन्छ ।
एकातिर विद्यमान निर्माण गतिविधिले आगामी दिनमा थप गति लिने अनुमान र अर्कोतिर भूकम्पले सृजना गरिदिएको अर्बौंको अतिरिक्त निर्माण बजारलाई ‘क्यास’ गर्ने ध्याउन्नमा छन् यस क्षेत्रका प्लेयरहरु यतिबेला । निर्माण सामग्री नै निर्माण रफ्तारको इन्धन हुने भएकाले सिमेन्ट उत्पादकहरुबीच पनि अहिले ‘को अगाडि जाने’ भन्ने होडबाजी देखिएको छ । सकेसम्म बलियो भएर बजार पकड जमाउने गृहकार्यमा जुटेका छन् सिमेन्ट उत्पादकहरु । यो गृहकार्यको एउटा महङ्खवपूर्ण हिस्सास्वरुप अधिकांश सिमेन्ट उद्योग आफ्नो उत्पादन क्षमता विस्तारको दौडमा लागेका छन् ।
बलियो हुने होडबाजी
यतिबेला क्लिंकर उत्पादन वा ग्राइन्डिङ प्लान्टको क्षमता बढाउने गृहकार्यमा रहेका प्रायः सिमेन्ट उद्योगको तर्क विद्यमान उत्पादन परिमाणले माग धान्न नसकेकाले क्षमता बढाउन लागेको भन्ने सुन्न सकिन्छ । केही ब्रान्डको हकमा यो सत्य हुन सक्ने भए तापनि समग्रमा कारण यो होइन । किनकि, अहिले बजार मागभन्दा उद्योगहरुको उत्पादन क्षमता झन्डै ५० प्रतिशतले माथि पुगिसकेको छ । उद्योगहरुले जडित क्षमताअनुसार उत्पादन नै गर्न नसकिरहेको अवस्थामा क्षमता बढाएर तत्कालको माग सम्बोधन गर्न खोजिएको भन्नु वास्तविक देखिँदैन ।
तथापि, भूकम्पपछिको पुनर्निर्माणले सिमेन्टको अतिरिक्त बजार सृजना गरिदिएको छ । यसलाई हेरेर पनि सिमेन्ट उद्योगहरु नियमितबाट उत्पादन बढाएर जान खोजेका हुन् । तीव्र शहरीकरणसँगै व्यक्तिगत घर निर्माणको प्रवृत्ति पनि बढ्दै गएकाले सिमेन्टको स्वाभाविक माग वृद्धिमा तीव्रता आउने अनुमान क्षमता विस्तारको अर्को कारण भएको देखिन्छ । त्यस्तै, विकास पूर्वाधार, ठूला होटेल तथा रिसोर्ट, रियल इस्टेट परियोजनाहरु आदि निर्माणले उल्लेख्य फड्को मार्ने आँकलन सिमेन्ट उत्पादकले उद्योगको आकार बढाएर लैजान खोज्नुको एक आधार हो ।
अर्कोतर्फ, २०७४ सालबाट सिमेन्ट उद्योगले स्वदेशी क्लिंकर मात्र प्रयोग गर्न पाउने सरकारले नीतिगत व्यवस्था गरेको छ । यसले गर्दा अगामी दिनमा क्लिंकरको स्वदेशी बजारको आकर्षण देखेर यतिबेला स्थापित तथा नयाँ दुवै प्रकारका सिमेन्ट उद्योगहरुले क्लिंकर उत्पादनलाई जोड दिँदै छन् । ग्राइन्डिङ प्लान्ट मात्र भएका उद्योग पनि अन्य उद्योगसँग मिलेर या एकल लगानीमा क्लिंकरमा आधारित नयाँ उद्योग स्थापना गर्ने वा विद्यमान प्लान्टको क्लिंकर उत्पादन क्षमता बढाउनमा लगानी विस्तार गर्दै छन् ।
विदेशी लगानीको मनोवैज्ञानिक त्रास
वैदेशिक लगानीका ठूला उद्योगको नेपाल प्रवेश सम्भावनाले स्वदेशी सिमेन्ट उद्योगहरुमा एक किसिमको मनोवैज्ञानिक त्रास उत्पन्न गरिदिएको छ । ठूलो क्षमताका उद्योग आउँदा आफ्नो बजार खोसिने वा अस्तित्व गुम्ने डर स्वदेशी सिमेन्ट उत्पादकमा देखिएको छ । यही कारण पनि ती उद्योग सञ्चालनमा आउनुअघि नै उनीहरुसँग प्रतिस्पर्धाका लागि आफूलाई तयार पार्न उद्योगको क्षमता बढाएर आफूलाई बलियो बनाउने कसरतमा नेपाली निजीक्षेत्रका उद्योग लागेका हुन् । तर, यो कसरतमा समेत लाग्न नसक्ने साना र खर्चिलो पुरानो प्रविधिमा आधारित सिमेन्ट उद्योगहरुलाई आगामी ३–४ वर्षपछि अस्तित्व बचाउन नै धौधौ पर्ने अवस्था सृजना हुने निश्चित छ । बजारको यो निकट परिदृश्यलाई आँकलन गरेर अबको दिनमा सिमेन्ट उद्योगहरु आफूलाई बलियो बनाएर बजारमा टिकिराख्ने (सर्भाइवल अफ द फिटेस्ट) रणनीतिमा जाँदै छन् । यसले सिमेन्ट उद्योगहरुबीच दुईदेखि चार वर्षपछि बजार युद्ध (मार्केट वार)को अवस्था सृजना हुने देखिँदै छ । त्यो अवस्थामा आफूलाई अगाडि लैजानकै लागि अहिले सिमेन्ट उत्पादकहरु धमाधम क्षमता बढाउने दौडमा लागेको बुझिन्छ ।
क्षमता बढाउने दौडका उद्योग
पछिल्लो एक–डेढ वर्षयता क्लिंकरमा आधारित र ग्राइन्डिङ दुवै प्रकारका सिमेन्ट उद्योगहरु उत्पादन क्षमता बढाउने गृहकार्यमा लागेका छन् । अर्घाखाँची, घोराही, शिवम्, रिद्धिसिद्धि, मनसा, शुभलक्ष्मीलगायत सिमेन्ट कम्पनीले उद्योग विभागबाट पूँजी तथा क्षमता बढाउने अनुमति लिएर काम अघि बढाएका छन् । यीमध्ये रिद्धिसिद्धि र शुभलक्ष्मीले पूर्वस्वीकृतिबमोजिम उद्योग निर्माण पूरा नगर्दै क्षमता बढाएर सञ्चालनमा ल्याउने गरी अनुमति लिएका हुन् । यीबाहेक अन्य आधा दर्जनभन्दा बढी उद्योगहरुले क्षमता विस्तारका लागि आवेदन दिएको विभागका अधिकारीले जानकारी दिएका छन् ।
अर्घाखाँची डेढ वर्ष (२०७४ कात्तिक)भित्र नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग बन्ने तयारीमा जुटेको यसका सञ्चालकसमेत रहेका उद्योगी पशुपति मुरारकाले बताएका छन् । अर्घाखाँचीले दैनिक १२०० मेट्रिक टनको वर्तमान क्षमतालाई ३००० मेट्रिक टनमा ‘अपग्रेड’ गर्ने काम सुरु गरिसकेको छ । कम्पनीको यो क्लिंकर उत्पादन क्षमता हो । अर्घाखाँचीले फर्निस्ड आयलबाट विद्युत्समेत उत्पादन गर्ने गरी उद्योगमा ६ मेगावाटको पावर प्लान्ट पनि राख्न लागेको छ । योसहित उत्पादन क्षमता विस्तार योजनामा अर्घाखाँचीले थप ४ अर्ब रुपैयाँ खर्चिंदै छ ।
त्यस्तै, शिवम् क्लिंकर उत्पादन क्षमता दैनिक १२०० बाट २४०० मेट्रिक टन पु¥याउने तयारीमा छ । यसको काम अहिले धमाधम भइरहेको र यो आउँदो तीन महिनाभित्र पूरा भइसक्ने कम्पनीका परियोजना प्रमुख निखिल अग्रवालले जानकारी दिएका छन् । हाल ओपीसी सिमेन्ट मात्र उत्पादन गरिरहेको शिवम्ले पीपीसी पनि वार्षिक डेढ लाख टन उत्पादन गर्ने स्वीकृति उद्योग विभागबाट मागेको छ । शिवम्ले क्लिंकर धुल्याउने (ग्राइन्डिङ) प्लान्टको क्षमता पनि ८०० बाट २४०० मेट्रिक टनमा विस्तार गरेको छ । करिब ५ अर्ब रुपैयाँ शुरुआती लगानी रहेको शिवम्मा क्षमता वृद्धिका लागि थप २ अर्ब रुपैयाँ लगानी हुने अग्रवालले बताएका छन् ।
सगरमाथा ब्रान्डमा सिमेन्ट उत्पादन गरिरहेको घोराही सिमेन्ट इन्डष्ट्रीले पनि उत्पादन क्षमता दैनिक ७५० मेट्रिक टनबाट २ हजार मेट्रिक टन पु¥याउन लागेको छ । दैनिक १९०० मेट्रिक टन क्लिंकर उत्पादन क्षमता रहेको घोराहीले अहिले ग्राइन्डिङको क्षमता विस्तारको काम गरिरहेको जानकारी कम्पनीका ब्रान्ड म्यानेजेर प्रतीक अधिकारीले दिएका छन् । ‘एक वर्षअघिबाट सुरु गरेको ग्राइन्डिङ क्षमता वृद्धिको काम अहिले लगभग पूरा भइसकेको छ,’ उनले भने । उत्पादन क्षमतासँगै घोराहीले कुल पुँजी रु. ८ अर्बबाट ११ अर्ब ३४ करोड पु¥याउने अनुमति मागेको उद्योग विभाग स्रोतले जानकारी दिएको छ ।
मारुती सिमेन्टले पनि क्लिंकर उत्पादन क्षमता बढाएर दैनिक १८०० टन पु¥याउँदै छ । मारुतीले यसअघि यो १२०० बाट १५०० टन पु¥याएको थियो । थप ३०० टन उत्पादन क्षमता वृद्धिको काम अहिले अन्तिम चरणमा पुगेको कम्पनीका गोपाल सारडाले जानकारी दिएका छन् । मारुतीको सिमेन्ट ग्राइन्डिङ क्षमता दैनिक ३००० मेट्रिक टन छ । बुटवल सिमेन्टले पनि ग्राइन्डिङ क्षमता ३०० बाट ८०० मेट्रिक टन पु¥याएको कम्पनीका महाप्रबन्धक आकाश अग्रवाल बताउँछन् ।
लोमस ग्रूपले जनकपुरस्थित कसमस सिमेन्ट इन्डष्ट्रिजमा क्लिंकर उत्पादन युनिट स्थापना गर्दै छ । यसको क्षमता दैनिक ६ सय मेट्रिक टन हुने कसमसका निर्देशक प्रबलजंग पाण्डेले जानकारी दिए । ‘हाल यसको काम अन्तिम चरणमा पुगेको छ । आगामी २ महिनाभित्र क्लिंकर उत्पादन सुरु हुन्छ,’ उनले भने । अहिले धेरै उद्योग आफ्नै क्लिंकर बेस बनाउँदै छन् । त्यसैले अरुसँग क्लिंकर किनेर बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुने भएकाले आफ्नो उद्योगका लागि चाहिने क्लिंकर आफै उत्पादन गर्न लागेको उनी प्रष्ट्याउँछन् । क्लिंकर प्लान्ट थप्न डेढ अर्ब रुपैयाँ लगानी भएको उनले जानकारी दिए । क्लिंकर उत्पादन गर्ने प्लान्ट सञ्चालनमा ल्याइसकेपछि विराटनगर (दैनिक ४०० टन) र जनकपुर (दैनिक ४०० टन) प्लान्टको ग्राइन्डिङ क्षमता पनि बढाउनेबारे विचार गर्ने पाण्डेले बताए । लोमसले विराटनगरमा इस्टर्न कसमस सिमेन्ट प्रालि नाममा प्लान्ट सञ्चालन गरिरहेको छ ।
त्यस्तै, सौरभ ग्रूपले पनि भैरहवा र वीरगञ्जमा रहेको जगदम्बा सिमेन्ट उद्योगको ग्राइन्डिङ क्षमता बढाउने तयारी गरेको छ । वीरगञ्ज प्लान्टलाई युरोपेली प्रविधि भीआरएम (भर्टिकल रोलिङ मिल्स) मा अद्यावधिक गर्दै दैनिक क्षमता १५०० मेटनबाट २५०० मेटन पु¥याउन लागेको जगदम्बाका प्रबन्धक दिनेश सुवेदीले जानकारी दिए । क्षमता विस्तारको काम अबको १८ महिनामा सक्ने लक्ष्य रहेको कम्पनीका बिजनेश हेड पीके सरकारले बताएका छन् । चीन र भारतका धेरैजसो सिमेन्ट प्लान्टमा प्रयोग गरिएको भीआरएम प्रविधिबाट अहिलेको भन्दा धेरै राम्रो गुणस्तरको सिमेन्ट उत्पादन गर्नुका साथै २० देखि ३० प्रतिशत कम विद्युत् खपत गर्ने सुवेदीको जिकीर छ । जगदम्बाको भैरहवा प्लान्टको क्षमता पनि हालको दैनिक १२०० मेटनबाट २४०० पु¥याउन लागिएको जानकारी उनले दिएका छन् । यसको काम भने तत्काल सुरु भइसकेको छैन । दुवै स्थानको क्षमता विस्तारमा करिब रु. १ अर्ब लाग्ने बताइएको छ ।
गतवर्षबाट क्लिंकर उत्पादन सुरु गरेको सर्वोत्तम सिमेन्ट पनि दोस्रो लाइन थपेर क्षमता विस्तार गर्ने योजनामा छ । सर्वोत्तमले हाल वार्षिक ४ लाख मेटन रहेको क्लिंकर उत्पादन क्षमता दोब्बर पु¥याउन खोज्दै छ । यसले निकट भविष्यमै सिमेन्ट पनि उत्पादन शुरु गर्न लागेको सौरभ ग्रूपका अध्यक्ष विष्णु न्यौपानेले जानकारी दिएका छन् । हाललाई वार्षिक १ करोड २० लाख बोरा (६ लाख मेटन) सिमेन्ट उत्पादन हुने उनले बताए । सर्वोत्तमले यूरोपियन भीआरएम प्रविधिबाट सिमेन्ट उत्पादन गर्दै छ । यसले सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत् आपूर्ति सहज बनाउन उद्योगमा ५ मेगावाटको विद्युत् प्लान्टसमेत राख्दै छ । सर्वोत्तममा कुल ६ अर्ब लगानी हुँदै छ ।
अम्बे ग्रूपले पर्सास्थित अम्बे सिमेन्टको पनि ग्राइन्डिङ क्षमता बढाउन लाग्दै छ । अम्बेले हालको १००० टनबाट बढाएर उत्पादन क्षमता दैनिक १४०० टन पु¥याउन लागेको हो । एडभान्स सिमेन्टले पनि दैनिक ग्राइन्डिङ क्षमता १३०० मेटनबाट १८०० मेटन बनाउँदै छ । सालिमार सिमेन्ट दैनिक २३०० मेटन पु¥याउने तयारीमा रहेको कम्पनीका महाप्रबन्धक गिर्धारीलाल अग्रवालले जानकारी दिए । हाल यसको जडित क्षमता दैनिक ११०० मेटन छ ।
अग्नि सिमेन्टले पनि हालको जडित क्षमता (३०० टन दैनिक)लाई दोब्बर बनाउने र क्लिंकर उत्पादनसमेत थाल्ने योजना रहेको कम्पनी स्रोतले जानकारी दिएको छ । गोरखकाली, मेघा, ओम, रोल्पा, मनसालगायतका सिमेन्ट उद्योगले पनि क्षमता तथा पूँजी विस्तार गर्न लागेको कम्पनी स्रोतको भनाइ छ ।
करिब दर्जन नयाँ उद्योग आउँदै
सञ्चालनमा रहेका सिमेन्ट उद्योगले आफ्नो क्षमता विस्तार गर्दै छन् भने अर्कोतर्फ नयाँ सिमेन्टमा उद्योग आउने क्रम उस्तै छ । स्वदेशी व्यापारिक घरानाहरु पनि अहिले ठूला सिमेन्ट उद्योग स्थापना तथा सञ्चालनको तयारीमा छन् । अन्य व्यवसायीहरुको समेत गरी झन्डै दर्जन नयाँ सिमेन्ट उद्योग आउन लागेको उद्योग विभाग स्रोतको भनाइ छ । नयाँ आउन लागेका सबै ठूला उद्योगहरुले आफै क्लिंकरसमेत उत्पादन गर्दै छन् । अघिल्लो आर्थिक वर्षमा मात्र विभागमा ६ सिमेन्ट उद्योग दर्ता भएका छन् ।

निर्माणाधिन रिद्धिसिद्धि सिमेन्टको प्लान्ट
व्यावसायिक घराना शंकर ग्रूप र अम्बे ग्रूपले संयुक्त लगानीमा रिद्धिसिद्धि सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन लागेका छन् । अहिले हेटौंडामा उद्योग स्थापनाको काम भइरहेको छ । यी दुवै समूहको हाल सिमेन्ट ग्राइन्डिङ प्लान्ट मात्र छन् । यसकारण उद्योगलाई आवश्यक मुख्य कच्चापदार्थ क्लिंकरका लागि अन्य उत्पादक वा आयातमा निर्भर हुँदै आउनुपरेको छ । तर, अहिले अधिकांश ठूला सिमेन्ट उद्योगीहरुले आफ्नै क्लिंकरमा आधारित उद्योग ल्याउन थालेपछि उनीहरुसँग प्रतिस्पर्धाका लागि शंकर र अम्बेले पनि आफ्नै चुनढुंगा खानी तथा क्लिंकरसमेत उत्पादन गर्ने गरी रिद्धिसिद्धि सिमेन्ट उद्योग सञ्चालनमा ल्याउन लागेका हुन् ।
सञ्चालनमा आएपछि यो उद्योग नेपालका ठूला सिमेन्ट उत्पादकहरुमध्येमा पर्नेछ । यसको क्षमता दैनिक करिब २५०० मेट्रिक टन क्लिंकर उत्पादन गर्न सक्ने हुनेछ । उद्योग विभागबाट यस कम्पनीले वार्षिक ८ लाख ४२ हजार १ सय २५ टन क्लिंकर, ओपीसी सिमेन्ट ४ लाख ८६ हाजार ५ सय १४ मेटन, पीपीसी २ लाख ४४ हजार २ सय ८० मेटन र पीएससी २ लाख ४० हजार ९ सय ४४ मेटन उत्पादन गर्ने अनुमति लिएको छ ।
उद्योग स्थापनाकै क्रममा यसले उत्पादन क्षमता पहिले स्वीकृत भएकोमा थप गर्ने गरी विभागसँग अनुमति मागेको हो । यसअघि रिद्धिसिद्धिले क्लिंकर, ओपीसी, पीपीसी र पीएससी क्रमशः ६ लाख ७९ हजार १ सय ३३ मेटन, ३ लाख ९२ हजार ३ सय ५० मेटन, १ लाख ९७ हजार मेटन, १ लाख ९४ हजार ३ सय ५० मेटन उत्पादन गर्ने स्वीकृति लिएको थियो । उत्पादन क्षमता वृद्धिसँगै रिद्धिसिद्धिले कुल पूँजी पनि ८ अर्ब रुपैयाँबाट बढाएर करिब ११ अर्ब रुपैयाँ पु¥याउने भएको छ । यसले आगामी एक वर्ष (सन् २०१७) भित्रै उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।
चौधरी ग्रूप (सीजी)ले पनि आफ्नै चुनढुंगा खानीसहित क्लिंकर उत्पादन गर्ने गरी पाल्पामा उद्योग स्थापना गर्दै छ । १४ अर्ब रुपैयाँको हाराहारीमा लगानी गर्ने योजना रहेको पाल्पास्थित सिमेन्ट प्लान्ट चौधरी समूहको ‘ड्रिम प्रोजेक्ट’मध्ये एक भएको बताइएको छ । ‘यो प्रोजेक्टको काम अहिले तीव्र गतिमा भइरहेको छ,’ समूहका अध्यक्ष विनोद चौधरीले भने, ‘आगामी दुई वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।’ सिजी सिमेन्टको पाल्पा प्लान्टको क्षमता कति हुनेछ भन्ने यकिन जानकारी नआएको भए पनि लगानी आकारका आधारमा यो नेपाली निजीक्षेत्रबाट सञ्चालित ठूला सिमेन्ट उद्योगमध्येको हुने निश्चित छ । सीजीले तीन वर्षअघि नवलपरासीको दुम्कीबासमा दैनिक १५०० मेट्रिक टन क्षमताको ग्राइन्डिङ प्लान्ट राखेर सीजी सिमेन्ट सञ्चालनमा ल्याएको थियो । पाल्पाको प्लान्ट पनि सीजी सिमेन्टकै ब्रान्डमा सञ्चालन हुने समूहका सञ्चार महाप्रबन्धक मधुसूदन पौडेलले जानकारी दिएका छन् ।
स्वदेशी लगानीमा रिद्धिसिद्धि र सीजीभन्दा साना आकारका पनि आधा दर्जनबढी सिमेन्ट उद्योग सञ्चालनमा आउने तर्खरमा छन्, जसको औसत लगानी १ अर्बको हाराहारीमा छ । मोरङको हात्तीमुढामा नेपाल अल्ट्राटेक सिमेन्ट सञ्चालनमा आउँदै छ । करिब १ अर्ब रुपैयाँ लगानी हुने यो उद्योगको सिमेन्ट उत्पादन क्षमता वार्षिक ३ लाख मेटन रहने बताइएको छ । वार्षिक करिब ३ लाख टन क्लिंकर उत्पादन क्षमतासहित शुभश्री अग्नि सिमेन्ट (अर्घाखाँची) हाल निर्माणाधीन छ । राजेशकुमार अग्रवालसहितको लगानीमा झापाको गरामनीमा मेघा सिमेन्ट सञ्चालनमा आउँदै छ । झापाकै ज्यामिरगढीमा ५०० टन दैनिक उत्पादन क्षमताको सनराइज सिमेन्ट आउन लाग्दै छ । दाङको सतबरियामा २ अर्ब लगानी रहेको अरनिको आँबुखैरेनी सिमेन्ट उद्योग स्थापना भइरहेको छ । यसले वार्षिक करिब ३ लाख मेटन सिमेन्ट उत्पादन गर्ने बताइएको छ । कपिलवस्तुमा पनि वार्षिक ३ लाख टन सिमेन्ट उत्पादन गर्ने गरी शुभलक्ष्मी सिमेन्ट उद्योग विभागमा दर्ता भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टले चीनको होंसी होल्डिङ्ससँगको संयुक्त लगानीमा खडा गरेको होङ्सी शिवम् सिमेन्ट उद्योगको निर्माण कार्य नवलपरासीको सर्दीमा सुरु भइसकेको छ । यसको दैनिक उत्पादन क्षमता ६००० मेट्रिक टन रहनेछ । सन् २०१७ भित्र सञ्चालनमा आइसक्ने लक्ष्य राखेको यस उद्योगमा करिब ३७ अर्ब ३६ करोड रुपैयाँ लगानी छ । यो नेपाली सिमेन्ट उद्योगमा हालसम्मको सबैभन्दा ठूलो लगानी हो, जसमध्ये ७० प्रतिशत होङ्सीको र ३० प्रतिशत शिवम्को रहेको छ ।
आउलान् विदेशी ?

हुन त नेपालको सिमेन्ट माग पूरा गर्न स्वदेशी उद्योगहरु नै सक्षम भइसकेकाले यो क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहित गर्न नहुने नेपाली उद्योगीहरुको जिकीर छ । तथापि २ वर्षयता सिमेन्ट उद्योगमा ४ ओटा विदेशी लगानीको प्रस्ताव लगानी बोर्डले स्वीकृत गरिसकेको छ ।
नाइजेरियाको डङ्गोटे ग्रूप (५५ करोड अमेरिकी डलर), भारतको रिलायन्स इन्फ्रास्ट्रक्चर कम्पनी (४० करोड अमेरिकी डलर), चीनको होङ्सी होल्डिङ्स (३५.९१८ करोड अमेरिकी डलर) र चीनकै हुवाजिन (५० करोड अमेरिकी डलर)ले बोर्डबाट लगानी अनुमति पाएका हुन् । तर, यीमध्ये होङ्सीले प्लान्ट निर्माणको काम नै सुरु गरिसकेको छ भने अन्य तीन उद्योग आउने÷नआउने निश्चित देखिँदैन ।
डङ्गोटले गतवर्षको जेठमा पत्रकार सम्मेलन गरेरै मकवानपुरमा उद्योग स्थापनाको काम २०७२ असोजबाट सुरु गर्ने जनाएको थियो । तर, उसको यो घोषणाले १३ महिना पार गरिसक्दा पनि सोअनुरुप काम सुरु भइहाल्ने छाँट अहिलेसम्म देखिएको छैन । डङ्गोटे सिमेन्ट नेपाल नाममा कम्पनी सञ्चालन गर्ने भनिएको उद्योगलाई दैनिक ६००० मेट्रिक टन उत्पादन क्षमतामा बनाउने भनिएको छ ।
डङ्गोटेलगत्तै दैनिक ६००० टन सिमेन्ट उत्पादन क्षमताको उद्योग सञ्चालनका लागि लगानी अनुमति लिएको रिलायन्सले पूर्वी वा मध्य तराईमा प्लान्ट स्थापना गर्ने बताए पनि यसले लगानी बोर्डबाट स्वीकृति लिनेबाहेक हालसम्म अरु कुनै पनि ठोस काम अघि बढाएको छैन । पछिल्लोपटक लगानी अनुमति पाएको हुवाजिन पनि लगानी स्वीकृत भएपछि नेपालमा सिमेन्ट उद्योग खोल्न प्रक्रिया अघि बढाउन अहिलेसम्म निष्क्रिय नै छ ।
नेपालजस्तो विकासोन्मुख देशमा पूर्वाधारका ‘मेगा प्रोजेक्ट’ आउनै बाँकी रहेकाले यो ठूलो परिमाणमा खपत हुने सिमेन्टको ‘अनएक्सप्लोर्ड मार्केट’ हो भन्ने विश्वासले अनुमति लिएका विदेशी कम्पनी सिमेन्टमा लगानीका लागि आकर्षित भएका हुन् । यसबाहेक ठूलो परिमाणमा उत्पादन गरेर भारतलाई पनि बजार बनाउन सकिन्छ भन्ने अपेक्षा उनीहरुको हो । यही धारणाले अहिलेसम्म काम अघि नबढाएका विदेशी लगानीका तीन कम्पनी आउन सक्लान् । अन्यथा स्थानीय बजारको नियमित माग प्रवित्ति तीव्र नै बने पनि यसैबाट नाफा कमाउने दृष्टिले मात्र नेपाली सिमेन्ट क्षेत्रमा विदेशी लगानीका अन्य उद्योग आइहाल्ने सम्भावना कमै छ । स्वदेशी तथा निर्यात बजारको सम्भावना हेरेर पनि ठूलो विदेशी लगानीका उद्योगहरु ‘पर्ख र हेर’कै मानसिकता रहेको देखिन्छ अहिलेसम्म ।
विदेशी लगानीका उद्योग आएर सिमेन्ट आयात पूर्ण रुपमा प्रतिस्थापन गर्दाको अवस्थामा पनि स्वदेशी उद्योगले गरिरहेको आपूर्तिमा करिब १० अर्बको मात्र अतिरिक्त बजार देखिन्छ अहिले । यो रकम हाल भारतबाट एक वर्षमा भएको सिमेन्ट तथा यसको कच्चा पदार्थ आयातको आँकडा हो ।
सिमेन्टको लगानी ३ खर्ब नाघ्दै
विदेशी लगानीका चारओटै कम्पनी आए केही वर्षभित्रै नेपाली सिमेन्ट उद्योगको आकार ३ खर्ब रुपैयाँ नाघ्नेछ । होङ्सीबाहेक अन्य तीन कम्पनीहरुको प्रस्तावित लगानी कुल १ अर्ब ४५ करोड अमेरिकी डलर (अहिलेको विनिमय दरअनुसार करिब रु. १ खर्ब ५५ अर्ब) छ । यी तीनै कम्पनीको आगामी ४ वर्षभित्र उद्योग सञ्चालनमा ल्याइसक्ने योजना हो ।
हाल क्षमता विस्तारमा लागेका स्वदेशी उद्योगहरुले कुल १५ अर्ब रुपैयाँ खर्चिंदै छन् । अहिले नयाँ बनिरहेका सबै उद्योगहरुमा गरी ६५ अर्बको हाराहारीमा लगानी हुँदै छ । सिमेन्ट उत्पादक संघका अध्यक्ष ई. धु्रव थापाका अनुसार हाल सञ्चालनमा रहेका सिमेन्ट उद्योगहरुको कुल लगानी करिब ९० अर्ब रुपैयाँ पुगिसकेको छ । यो सबैलाई समग्रमा हेर्दा प्रस्तावित विदेशी लगानीका सबै कम्पनी आएको अवस्थामा नेपाली सिमेन्ट उद्योगको लगानी आकार केही वर्षभित्रै ३ खर्ब रुपैयाँ नाघ्ने देखिएको छ । गत आर्थिक वर्ष ०७२÷७३ सम्ममा सिमेन्ट उद्योगमा बैंक लगानी पनि करिब ४० अर्ब रुपैयाँ पुगिसकेको देखिन्छ ।
उद्योगको बजार र लगानी जोखिम
उद्योग विभागको दर्ता सूचीमा हालसम्म ८४ ओटा सिमेन्ट उद्योग चढिसकेका छन् । सरकारी स्वामित्वका हेटौंडा र उदयपुर सिमेन्ट यसबाहेकका हुन् । यीमध्ये करिब ४ दर्जन उद्योग अहिले सञ्चालनमा छन्, जसले उत्पादन गर्ने सिमेन्टका ब्रान्ड सयको हाराहारीमा छ । यी उद्योगको कुल उत्पादन जडित क्षमता वार्षिक करिब ७५ लाख टन छ । बजार माग अहिले वार्षिक ५० लाख टन रहेको अनुमान छ । यसरी हेर्दा अहिले नै सिमेन्टको बजार ‘सेचुरेशन’मा पुगिसकेको छ । उत्पादन क्षमता मागभन्दा ५० प्रतिशत माथि छ । यस्तै, सिमेन्टको वार्षिक बजार वृद्धि १० प्रतिशतको हाराहारीमा छ । हालको माग परिमाण यो दरले बढ्दै जाँदा अर्को चार वर्षसम्म पनि सिमेन्टको स्थानीय आवश्यकता विद्यमान उद्योगहरुको क्षमताले नै लगभग धान्न सक्ने देखिन्छ । तथापि, विगत एक दशकयता ५० देखि ६० प्रतिशतभन्दा बढी क्षमतामा कुनै पनि उद्योगले सिमेन्ट उत्पादन गरेका छैनन् ।
त्यस्तै, क्लिंकरको माग पनि अहिले दैनिक १२ हजार मेट्रिक टन (वार्षिक ४० लाख मेट्रिक टन)को हाराहारीमा छ । तर, हाल क्लिंकरसमेत उत्पादन गर्ने एक दर्जको हाराहारीमा रहेका उद्योगहरुको क्षमता योभन्दा बढी नै पुगिसकेको उद्योगीहरु बताउँछन् । अर्को २ वर्षमा क्लिंकर उत्पादन क्षमता कम्तीमा १० हजार मेट्रिक टन थपिँदै छ । विदेशी लगानीका अन्य तीन उद्योग पनि आउने हो भने चार वर्षपछि क्लिंकर उत्पादन क्षमता दैनिक ३० हजार मेट्रिक टन नाघ्ने देखिन्छ ।
अर्कोतर्फ, तीन–चार वर्षभित्रै सिमेन्ट उत्पादन क्षमता वार्षिक करिब ६०–६५ लाख टन थपिने देखिन्छ । सिमेन्टको माग तथा बजार वृद्धि अहिलेकै दरमा सीमित भए चार वर्षपछि स्थानीय माग पूरा गरेर पनि करिब ८० प्रतिशत सिमेन्ट बढी उत्पादन हुनेछ । यसकारण सिमेन्ट उद्योगहरुको तीव्र क्षमता विस्तार र ठूला उद्योगको आगमनसँगै यस क्षेत्रको बजार साँघुरिँदै छ । एक त हाम्रो अर्थतन्त्रको आकार नै सानो छ भने विकास निर्माणको गति पनि ह्वात्तै बढिहाल्ने अर्थ–राजनीतिक माहोल छैन ।
यसरी निर्माणको सानो बजारमा धेरै उद्योगले प्रतिस्पर्धा गर्नुपर्दा निकट भविष्यमै सिमेन्टमा ‘प्राइस वार’को अवस्था आउने देखिएको छ । अर्थात्, बजारमा सिमेन्टको ओइरो लाग्ने हुँदा उत्पादकहरुले अस्तित्वका लागि मूल्य प्रतिस्पर्धा गर्न मैदानमा उत्रिनुपर्ने हुन्छ । चरम प्रतिस्पर्धात्मक त्यो अवस्थाले उपभोक्तालाई मूल्य र ब्रान्ड छनोटको कयौं विकल्प दिनेछ । तर, मूल्य प्रतिस्पर्धामा टिक्नका लागि उद्योगहरु कमसल गुणस्तरको सिमेन्ट उत्पादनतर्फ प्रेरित हुने सम्भावना पनि रहन्छ ।
उक्त अवस्थामा नेपाली सिमेन्टले निर्यात बजार बनाउन नसके उद्योगको लगानी जोखिममा पर्न सक्नेछ । नेपाली सिमेन्टको सम्भावित निर्यात बजार भारत (युपी, विहार र पश्चिम बंगाल राज्य) नै हो । तर, अहिलेकै अवस्थामा नेपाली सिमेन्टले भारतमा प्रतिस्पर्धा गरेर बजार बनाउन सम्भव छैन । यसको कारण – विद्युत् आपूर्ति असहज र महँगो, कच्चापदार्थ उत्खनन तथा ढुवानी लागत उच्च इत्यादिले भारतभन्दा नेपाली सिमेन्टको उत्पादन लागत बढी पर्ने गरेको छ । उही प्रकार र तौलको सिमेन्टको मूल्य भारतको तुलनामा यहाँ अहिले बोरामा डेढदेखि २ सयसम्म महँगो छ । नेपालमै महँगो पर्न आउने सिमेन्टमा थप ढुवानी भाडा जोडेर भारतीय बजारमा प्रतिस्पर्धा गर्न असम्भव नै छैन अहिले ।

चुनढुंगा खानी प्रचुर भएकाले सिमेन्ट उत्पादनमा नेपालको सम्भावना फराकिलो छ । खानी तथा भूगर्भ विभागका अनुसार नेपालमा १ अर्ब ७ करोड टन चुनढुंगाको भण्डार प्रमाणित भइसकेको छ भने, देशको ठूलो भूभागमा खानी सम्भावनाको अध्ययन नै हुन सकेको छैन । यद्यपि, स्वदेशी सिमेण्ट उद्योगको संख्या र उत्पादन क्षमता थपिँदै गए पनि भारतीय सिमेण्टको बजार हिस्सा अझै पनि सानो छैन । कतिपय ठूला आयोजनाले भारतीय सिमेण्टको गुणस्तरलाई देखाएर आयात गर्दै आएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७२/७३ को १० महिनासम्ममा भारतबाट रु. ८ अर्बबराबरको सिमेण्ट आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा भारतबाट रु. १० अर्ब १२ करोडको सिमेण्ट आयात भएको थियो । अघिल्ला वर्षहरुमा पनि झण्डै सोही परिणाममा भारतीय सिमेण्ट नेपाली बजारमा भित्रिँदै आएको छ । यसको अर्थ, नेपालमा ठूला सिमेण्ट उद्योगहरुले पूर्वाधार परियोजनाको मागबमोजिम आपूर्ति गर्न सके भारतीय आयात निरुत्साहित हुने र स्वदेशी उत्पादनको बजार विस्तार हुने पक्का छ ।
नेपालमा विकास निर्माणको काम हुन धेरै बाँकी भएकाले सिमेन्टको सम्भावनालाई दोहन गरेर अर्थतन्त्रले फाइदा लिन सक्ने ठाउँ पनि प्रशस्तै छ । यद्यपि, ठूला पूर्वाधार निर्माणमा नगई सिमेन्टको आन्तरिक बजार विस्तार हुन कठिन छ भने उत्पादन लागत घटाउन सरकारले आवश्यक वातावरण नबनाए निर्यात बजार असम्भव छ ।





