सानिमा माईको २२ मेगावाट राष्ट्रिय प्रसारणमा थपियो

October 1, 2015    2:04 pm   

sanima hydro
१४ असोज, काठमाडौं । अन्ततः उत्पादन सुरु भएको ७ महिनापछि सानिमा माई जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । प्रसारण लाइन निर्माण समयमा पूरा नहुँदा सानिमामाइको कुल २२ मेगावाट विद्युत उत्पादनमध्ये ४ मेगावाट मात्रै (३३ केभी प्रसारण लाइनमार्फत) विद्युत् प्रयोगमा आएको थियो । १३२ केभी काबेली करिडोर प्रसारणलाइनको निर्माण पूरा भएपछि आज (बिहीबार) बाट खेर गइरहेको थप १८ मेगावाटसमेत उपयोगमा आएको छ । राष्ट्रिय प्रसारणमा २२ मेगावाट विद्युत थपिएपछि विद्यमान ऊर्जा समस्यामा केही हदसम्म भए पनि राहत मिल्नेछ । सानिमा माइले २०७१ चैतदेखि नै विद्युत् उत्पादन सुरु गरेको हो ।

sanima mai hydro
जग्गाको मुआब्जा तथा क्षतिपूर्तिका विषयमा विद्युत प्राधिकरण र स्थानीयबीच तालमेल नमिल्दा १३२ केभी प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा आएर रोकिएको थियो । गत भदौको अन्तिम साता मात्र स्थानीयसँग क्षतिपूर्तिमा सहमति बनेपछि प्राधिकरणले झापाको लखनपुरमा निर्माण गर्न बाँकी दुईवटा टावरको काम सकेर तार टाँग्ने काम अहिले पूरा गरेको हो ।
उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट, जुगल भुर्तेल लगायतका विभिन्न गैरआवसीय नेपालीहरुको मुख्य प्रबद्र्धन रहेको यस आयोजनामा ४९ व्यक्ति/संस्थाको गरी करिब ३ अर्ब १० करोड लगानी भएको बताइएको छ । रन–अफ–रिभरमा आधारित यस आयोजनाले वार्षिक १२८.२९८ गिगावाट आवर विद्युत् उत्पादन गर्छ ।
पूर्वाञ्चलको इलाम जिल्लामा पर्ने यस आयोजनाको हाल क्यासकेडसमेत निर्माण भएरहेको छ, जसबाट थप ७ मेगावाट विद्युत उत्पादन हुने बताइएको छ ।

sanima mai hydro-sub station

sanima_Mai_hydro_bird_eye_view