खानीडाँडा विमानस्थलको कालोपत्रे गुणस्तरहीन, ३ महिना पनि टिकेन

September 23, 2015    5:02 pm   

khanidanda airport- khotang

खोटाङ । खोटाङको मनमायाँ राई खानीडाँडा विमानस्थलमा गरिएको कालोपत्रे गुणस्तरहीन भएको पाइएको छ । गत असार पहिलो साता सम्पन्न गरिएको कालोपत्रे तीन महिना नबित्दै उप्किनुका साथै ठाउँठाउँमा खाल्डाखुल्डी परेपछि उडान अवतरणमा समेत समस्या हुन थालेको विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । ‘ठेकेदारको लापरबाहीले यस्तो समस्या सिर्जना भएको हो’ उनले भने, ‘यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।’

नागरिक उड्डयन प्राधिकरणको सात करोड २४ हजार ३८० लागतमा लामा बुईल्डर्स/चाङ्मिला जेभी निर्माण कम्पनीले विमानस्थल कालोपत्रे गरेको हाे । विमानस्थलको ५९० मिटर लम्बाइ र २० मिटर चौडाइमा कालोपत्रे गरिएको छ ।

ठेकेदारले नाफा कमाउन गुणस्तरहीन सामग्री प्रयोग गरेकाले यस्तो समस्या देखा परेको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । ‘चन्दा सङ्कलन र श्रमदानबाट निर्माण गरिएको विमानस्थल कालोपत्रे गरेपछि प्रभावकारी हुने अपेक्षा गरिएको थियो,’ उनले भने,’ठेकेदारको लापरबाहीले चार महिना नपुग्दै जीर्ण बनेको छ ।’

यसबारे सम्बन्धित निकायलाई तत्काल सुधार गर्न निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताए । ‘ठेकेदारले यसरी अलपत्र छाड्न मिल्दैन’ उनले भने, ‘आयोजना प्रमुखसँग कुरा भइरहेको छ, यदि काम पूरा नगरेको खण्डमा कारबाही हुन्छ ।’

हतारमा गरिएको काम भएकाले यस्तो समस्या आएको स्वीकार गर्दै आयोजनाका प्रमुख इन्जिनियर रत्नबहादुर श्रेष्ठले तत्काल समस्या समाधान गरिने बताए । ‘तत्कालका लागि उडान भर्ने व्यवस्था मिलाएका हौँ,’उनले भने,“विज्ञ टोली ल्याएर फिनिसिङ गर्ने तयारीमा छौँ ।’

खोटाङवासीको आफ्नै पहलमा निर्माण गरिएको खानीडाँडा विमानस्थलमा नेपाल एयरलाइन्स, अग्नि, गोमा र तारा एयरलाइन्सले उडान भर्दै आएको छ । खानीडाँडा, लामीडाँडा र थामखर्क गरी तीनवटा विमानस्थल सञ्चालनमा रहेको जिल्लामा खानीडाँडा विकानस्थल सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्दछ ।

– रासस