सिमेन्टमा १ खर्ब ३१ अर्ब विदेशी लगानी स्वीकृत

July 29, 2015    6:39 pm   

cement-property-today

चीनको दश ठूलामध्येकाे एक सिमेन्ट उत्पादक होङसीले नेपालमा लगानीको अनुमति पाएको छ । नेपालको शिवम् सिमेन्टसँगको संयुक्त लगानीमा क्लिंकर तथा सिमेन्ट उत्पादन उद्योग संचालनका लागि होङ्सीको ३५.९१ अर्ब रुपैयाँ लगानी प्रस्ताव लगानी बोर्डले स्विकृत गरेको हो । लगानी बोर्डको मंगलबार बसेको बैठकले शिवम् सिमेन्टलाई विदेशी लगानी ल्याउन स्वीकृति दिएपछि चीनबाट पहिलोपल्ट सिमेन्टमा ठूलो रकमको प्रत्यक्ष लगानी भित्रिने भएको छ ।

यससँगै नेपालमा सिमेन्ट उत्पादनका लागि लगानी बोर्डले स्विकृत गरेको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) कुल १ खर्ब ३१ अर्ब पुगेको छ । होङ्सीअघि बोर्डले भारतको रिलायन्स इन्फ्रास्ट्रक्चर कम्पनीको रु. ४० अर्ब र नाइजेरियाली कम्पनी डोङ्गटे समूहको रु. ५५ अर्ब लगानी स्विकृत गरिसकेको छ । दुवै विदेशी कम्पनीले सिमेन्ट उद्योगमा लगानीको अनुमति पाएका हुन् । मंगलबार लगानी अनुमति पाएको होङ्सी ग्रूप चीनको हङकङ रेड लाइन नं. ३ लिमिटेड अन्तर्गत संचालित कम्पनी हो । दैनिक १ लाख ९२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता भएकाे होङ्सी चीनकाे साताैं ठूलाे सिमेन्ट उत्पादक हाे । यसले चीनबाहिर लाअाेस, म्यानमारलगायतका मुलुकमा समेत ठूला सिमेन्ट उद्याेग संचालन गर्दै अाएकाे छ भने ताजकिस्तानमा पनि दुइ ठूला सिमेन्ट प्लान्ट संचालनकाे तयारी गरेकाे छ । चीनमा सबैभन्दा ठूलाे सिमेन्ट उत्पादक काेन्च (अन्हुइ) ले दैनिक ५ लाख ४८ हजार ४ सय ९३ मे. टन सिमेन्ट उत्पादनकाे क्षमता राख्छ ।

हाेङ्रसीलाइ लगानी अनुमतिपछि शिवम् सिमेन्टअन्तर्गतको शिवम् होल्डिङ्स् र होङ्सी ग्रूपअन्तर्गतको होङ्सी होल्डिङ्स्को संयुक्त लगानी (जेभी) मा नेपालमा ‘होङ्सी शिवम् होल्डिङ्स्’ नामको सिमेन्ट उत्पादन कम्पनी स्थापना हुने शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र गोल्यानले बताएका छन् । क्लिङकरसमेत उत्पादन गर्ने यस कम्पनीमा कुल ४० अर्ब रुपैयाँ लगानी हुनेछ । स्थिर पुँजी ३३ अर्ब ९० कराेड रहने यस कम्पनीमा ७० प्रतिशत हिस्सा होङ्सी होल्डिङ्स्को र ३० प्रतिशत शिवम् होल्डिङ्सको रहने बताइएको छ । कम्पनीकाे चालु पुँजी रू. २ अर्ब रहेकाे छ ।

गत चैतमा शिवम् र होङ्सीबीच नेपालमा संयुक्त लगानीको सिमेन्ट उद्योग खोल्ने सम्झौता भएको थियो ।  कम्पनी स्रोतले दिएको जानकारीअनुसार, हालसम्म उद्योगका लागि आवश्यक जग्गा अधिग्रहण भैनसके पनि यो पश्चिम नेपालमा राख्ने गरी छिट्टै प्रक्रिया अघि बढाइनेछ ।  दैनिक उत्पादन क्षमता ६ हजार मेट्रिक टन रहने होङ्सी शिवम् होल्डिङ्स्ले आगामी ४ वर्षभित्र सिमेन्ट उत्पादन सुरु गरिसक्ने लक्ष्य राखेको छ । करिब ५ वर्षभित्र उत्पादन थालिसक्ने गरी प्रक्रिया अघि बढाएका रिलायन्स र डोङगटेको पनि दैनिक उत्पादन क्षमता ६/६ हजार मेट्रिक टन हुनेछ ।

यी उद्याेगहरूले उत्पादन सुरू गरेपछि अहिलेकै अाधारमा पनि नेपालकाे कुल सिमेन्ट उत्पादन क्षमता दैनिक ३६ हजार मे.टन पुग्नेछ । हाल नेपालमा संचालित ४५ सिमेन्ट उद्योगले करिब १ सय ५० ब्रान्डका सिमेन्ट  उत्पादन गर्दै आएका छन् । यी उद्योगको कुल दैनिक उत्पादन क्षमता हाल १८ हजार मेट्रिक टन छ । तर विद्युत् अभावमा हाल करिब १० हजार मेट्रिक टन मात्र उत्पादन भैरहेको उद्योगीहरुको भनाइ छ । दैनिक माग भने अहिले १२ हजार मे.टनकाे हाराहारीमा छ । अपुग माग पूर्ति गर्न अघिल्लो आवको ११ महिनामा ९ अर्ब ३८ करोडको सिमेन्ट आयात भएको थियो ।