‘रिमा’ तालिमको १०औं ब्याच चैत २५ बाट
रियल इस्टेट मार्केटिङ एजेन्ट (रिमा) तालिमको १० औं ब्याच आगामी चैत २५ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ । ५ दिनसम्म चल्ने अन्तर्राष्ट्रिय स्तरको उक्त तालिममा विभिन्न क्षेत्रका १० जना विज्ञ प्रशिक्षकको प्रस्तुति रहनेछ । तालिमका मुख्य प्रशिक्षकमा रियल इस्टेट विज्ञ ओम राजभण्डारी, नेपाल सरकारका पूर्वसचिव किशोर थापा, यूएन ह्याबिट्याटका जेन्डर एडभाइजर प्रफुल्लमानसिंह प्रधान, प्रिज्मा एडभरटाइजिङका प्रबन्ध निर्देशक रञ्जित आचार्य, वरिष्ठ अधिवक्ता रुद्रप्रसाद पोख्रेल, ई. उनम प्रधान लगायत रहेका छन् । तालिममा विभिन्न १२ विषयवस्तुमाथि सेसन सञ्चालन हुने तालिमकी संयोजक सविता जोशीले जानकारी दिइन् । यसमा रियल इस्टेटबारे आधारभूत जानकारीका साथै यसको बजार परिदृश्य, भवनसंहिता, सिभिल कन्स्ट्रक्सन, आर्किटेक्चर तथा इन्टेरियर डिजाइनिङ, रियल इस्टेट कानुन तथा अभ्यास, होम लोन, प्रोपर्टी इन्स्योरेन्स, सम्पत्ति मूल्यांकन, मिडिया मार्केटिङ, रियल इस्टेट मार्केटिङ, सकारात्मक सोच तथा व्यवहार आदि रहेका छन् ।
हरेक दिन बिहान ८ः३० देखि दिउँसो ५ बजेसम्म चल्ने सो तालिमको शुल्क १५ हजार रुपैयाँ तोकिएको छ । जसमा खाजा, खाना र रिफ्रेसमेन्टका साथै कोर्स सम्बन्धी अध्ययन सामग्री आयोजकले निःशुल्क उपलब्ध गराउने जानकारी दिएको छ । रिमा तालिम वृहत् इन्भेस्टमेन्ट्सले विगत ६ वर्षदेखि नियमित आयोजना गर्दै आएको छ । रियल इस्टेट कारोबारलाई मर्यादित बनाउन दक्ष रिमा उत्पादनको उद्देश्यले आयोजित यस तालिमबाट हालसम्म १२६ जना रिमा ग्र्याजुएट भइसकेका छन् ।






