एनएमबीलाई ५० लाख डलर सहयोग

April 17, 2015    6:22 am   

एनएमबी बैंकलाई अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ५० लाख अमेरिकी डलर (करिब ५० करोड रुपैयाँ) सहयोग दिने भएको छ । विश्व बैंक समूह अन्तर्गतको संस्था आईएफसीले ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत उक्त सहयोग दिने भएको हो । जीटीएफपी मार्फत आईएफसीले अन्तर्राष्ट्रिय व्यापार वृद्धि तथा साना तथा मझौला व्यवसायीहरूलाई वित्तीय सहयोग प्रदान गर्दै आएको छ । जीटीएफपीले उदीयमान बजारहरूको प्रवद्र्धन गर्नुका साथै निर्यातोन्मुख साना तथा मझौला उद्यमीहरूको वित्तीय सहजताका लागि बैंकहरूको क्षमता वृद्धिमा सहयोग गर्दछ ।

यस कार्यक्रम मार्फत एनएमबी २ सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय बैंकहरूसँग व्यापार सम्बन्ध स्थापित गर्न सक्षम हुनेछ । ‘यो सहयोगले नेपालको वित्त बजारको विकासका लागि एनएमबीलाई आईएफसीको एक प्रमुख साझेदार बन्न सहयोग पु¥याएको छ,’ बैंकका सीईओ उपेन्द्र पौड्यालले भने, ‘आईएफसीद्वारा उपलब्ध हुने सुविधाले साना व्यवसायलाई एलसी तथा ग्यारेन्टी जस्ता सुविधा उपलव्ध गराउन बैंकलाई सहयोग पुग्नेछ ।’

त्यस्तै, नेपालका लागि आईएफसीका आवासीय प्रतिनिधि भ्यालेन्टिनो एस बगतसिंहले भने, ‘एनएमबी र आईएफसीबीचको साझेदारीले सहुलियतपूर्ण वित्तीय सहयोग मार्फत साना तथा मझौला उद्यमीहरूको कार्यगत पुँजीको आवश्यकतालाई समाधान गर्न र आयातको भुक्तानी गर्नमा सहायता गर्नेछ । यसले नेपालको आर्थिक वृद्धिलाई गति दिन मद्दत पुग्नेछ ।’ एनएमबी आईएफसीको जीटीएफपी अन्तर्गत सहयोग प्राप्त गर्ने सातौं नेपाली बैंक हो ।