मध्यम वर्गका लागि आयो ‘सिनिक हाउजिङ’

April 18, 2015    11:38 am   

pariyojana_Scenic(1)

मध्यम वर्गलाई लक्षित गरेर शिवम् डेभलपर्स प्रालिले सिनिक हाउजिङ परियोजना सुरु गरेको छ । ललितपुरको ठैवस्थित यस परियोजनाले आवासको आकासिँदो बजार मूल्य र मध्यम आयवर्गको मागबीचको बेमेललाई सम्बोधन गर्ने विश्वास प्रवद्र्धकहरूको छ । शिवम् डेभलपर्समा निर्माण क्षेत्रको अग्रणी कम्पनी सीई कन्स्ट्रक्सनका साथै पञ्चकन्या ग्रुप, हाइड्रो सोलुुुुसन्स् र एन इन्टरनेसनल प्रालिको संयुक्त लगानी रहेको छ । परियोजनाको लागत न्यूनतम डेढ अर्ब रहने सीईका प्रबन्ध निर्देशक विजय राजभण्डारीले बताएका छन् ।

१२० रोपनी क्षेत्रफलमा रहने यस परियोजनाको पहिलो चरण अन्तर्गत ४२ रोपनीमा ९५ वटा घर बन्ने उनले जानकारी दिए । उक्त घरहरू व्यक्तिगत खरिदकर्ताले ७५ लाख रुपैयाँदेखि नै पाउने बताइएको छ । त्यस्तै, सामूहिक खरिदकर्ताले विशेष छुट मूल्यमा नै घर किन्न सक्ने योजना पनि कम्पनीले अघि सारेको छ । १० जनाको समूहमा किन्दा रु. ६९ लाखमै र ५ जनाको समूहले रु. ७२ लाखमा घर पाउने सीईका कर्पोरेट विजनेश प्रमुख सुजन घिमिरेले जानकारी दिए । परियोजनाका आवासको अधिकतम व्यक्तिगत मूल्य २ करोडसम्म हुने उनले बताएका छन् । ‘समूहमा घर किन्दा ग्राहकले मूल्यमा सहुलियत पाउनुका साथै सबैभन्दा महत्वपूर्ण कुरा उसले चाहेको व्यक्ति छिमेकी बनाउन सक्छ । यो कम्पनी र उपभोक्ता दुवैको हितमा हुने भएकाले यस्तो योजना अघि सारिएको हो,’ राजभण्डारीले भने ।

३ आनादेखि १ रोपनीको प्लट एरियामा बन्ने सिनिकका घरको बिल्टअप एरिया १२०० वर्गफिटदेखि २८०० वर्गफिटसम्म हुनेछ । तथापि परिवार संख्या र क्रयशक्तिको आधारमा ग्राहकको चाहना तथा आवश्यकता अनुसारको घर बनाइदिने परियोजना प्रवद्र्धकको भनाइ छ ।

सातदोबाटोबाट बढीमा ५ किलोमिटर मात्रभित्र रहेको सिनिक हाउजिङ मुख्य सहरी क्षेत्रको भीडभन्दा पर हुनुका साथै सडक, सार्वजनिक यातायात, खानेपानी लगायतका पूर्वाधारको राम्रो बन्दोबस्ती भएको शान्त वातावरणमा निर्माण हुँदैछ । यस आवास योजनाले परियोजना क्षेत्रको समग्र आर्थिक एवं सामाजिक परिवेशलाई छोटो समयमा परिवर्तन गर्ने विश्वास प्रवद्र्धक कम्पनीको रहेको छ ।