जिम्मेवार व्यवसाय सम्मेलन
आगामी पुस १ र २ गते काठमाडौंमा ‘नेपाल जिम्मेवार व्यवसाय सम्मेलन २०१४’ हुने भएको छ । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) सहित चार संस्थाको पहलमा हुन लागेको सम्मेलनमा साना–ठूला गरी ५० भन्दा बढी कम्पनीको सहभागिता रहने एनबीआईले जनाएको छ ।
सम्मेलनमा महिन्द्रा स्टिल भारतका प्रमुख कार्यकारी अधिकृत उदय गुप्ता प्रमुख वक्ता, अम्बुजा सिमेन्टका महानिर्देशक अनघा महाजनी, दक्षिण अफ्रिकाको इन्टाइस संस्थाका निर्देशक जोन हान्क्स र केपटाउन विश्वविद्यालयका प्राध्यापक राल्फ हम्मान वक्ताका रूपमा रहने आयोजक संस्थाले बताएको छ ।
सम्मेलन आयोजना गर्नुको उद्देश्यबारे जानकारी दिंदै एनबीआईका अध्यक्ष पद्म ज्योतिले दिगो समृद्धिका लागि व्यवसायी आफैंले स्वनियमका माध्यमबाट आचरण सुधार गर्ने हो भने नेपाल र नेपालीको शान्तिपूर्ण विकासको सम्भावना रहेको उल्लेख गरेका छन् ।
जिम्मेवार व्यवसायबाट कसरी कमाउन सकिन्छ भन्ने बुझाउन सम्मेलन सहयोगी हुने प्राध्यापक विनोदकृष्ण श्रेष्ठले जनाए ।
सम्मेलनमा रणनीतिक नेतृत्वमा होटल सोल्टीका पूर्वअध्यक्ष प्रभाकर राणा, छवि निर्माणमा कोकाकोलाकी निलिमा खेतान, कार्य सञ्चालन प्रभावकारिता र उत्पादकत्व वृद्धिमा पञ्चकन्या समूहका अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, सरोकारवालास“गको सम्बन्ध विकासमा नेपाल पूर्वाधार विकास लिमिटेडका कुशकुमार जोशी र नैतिक मूल्य स्थापना र कानुन परिपालनको विषयमा मेगा बैंकका कार्यकारी अधिकृत अनिलकेशरी शाहले प्रवचन दिनेछन् ।
सम्मेलनमा हिमालयन क्लाइमेट इनिसिएटिभ, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र नेपाल–जर्मनी समावेशी आर्थिक विकासको सहभागिता रहेको छ ।





