भोलिदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो बन्द हुने

January 26, 2018    12:00 pm   

रातको समयमा सवारी आवागमन रोकेर काम अघि बढाइए तापनि नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारको कामले अपेक्षाकृत प्रगति हासिल गर्न नसकेपछि भोलि (माघ १३ गते, शनिबार) देखि पुन: दिउँसो नै सवारी आवागमन रोकेर काम अघि बढ्ने भएको छ । भोलिदेखि एक महिनासम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सवारी आवागमन रोकेर काम गरिने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । रातको समयमा भन्दा दिउँसो काम गर्दा कामले गति लिने भन्दै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

यस सडकखण्ड विस्तारको कामलाई तीव्रता दिन भन्दै गत पुष १८ गतेदेखि राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोकेर काम हुँदै आएको थियो । भोलिबाट दिउँसो नै काम हुने भएपछि आज राति भने सवारी आवागमनमा कुनै अवरोध नगरिने नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताए । गत वर्ष पनि दिउँसोको समयमा सवारी आवागमन रोकेर काम गरिएको थियो । तर, स्थानीय प्रशासनले रातको समयमा सवारी आवागमन रोकेर काम गर्न दबाब दिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएको भन्दै ठेकेदार कम्पनी, नारायणगढ–मुग्लिन सडक आयोजना र परामर्शदाता कम्पनीले स्थानीय प्रशासनलाई दिउँसो नै सवारी आवागमन रोकेर काम गर्नुपर्ने माग गर्दै आएका थिए ।

आयोजनाका प्रमुख चन्द्रनारायण यादवले रातको समयमा सवारी आवागमन रोक्दा राति र दिउँसो दुवै समयमा काम हुन नसकेको बताए । उनले भने, ‘रातमा सवारी रोक्दा दिउँसोको काम पनि प्रभावित भयो जसले गर्दा प्रगतिमा चार गुणाले कमी आयो ।’ सो सडकखण्डको घुमाउने, १६ किलो र चेपाङ डाँडामा भित्ता काट्ने काम बाँकी रहेको छ । घुमाउनेमा २०० मिटर, चेपाङ डाँडा र १६ किलोमा ३०० मिटर भित्तो काट्ने काम बाँकी रहेको छ ।

हालसम्म उक्त सडकखण्ड विस्तारको ७२ प्रतिशत काम सम्पन्न भएको छ । जसमा १४ दशमलव ७ किलोमिटर सडक कालोपत्रे भ इसकेको आयोजनाले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिउँसोको समयमा सवारी साधन पार्किङ् गर्ने ठाउँ तय गरेको छ । कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार नारायणगढबाट मुग्लिनतर्फ आउने ट्रकलाई भतेरी र रामनगरमा रोकिनेछ भने बस र साना सवारीलाई जुगेडी र दाशढुंगामा रोकिने छ । काठमाडौँबाट नारायणगढतर्फ जाने बस र साना सवारीलाई मुग्लिनमा र ट्रकलाई लेवाटारमा रोकिने छ । पोखरातर्फबाट आउने बस र साना सवारीलाई बेनिटार र ट्रकलाई आँबुखैरनीमा रोकिने उनले बताए ।

– रासस