मोरङका ९० प्रतिशत स्थानीय तह दमकलबिहिन

पथरी (मोरङ), ४ माघ: मोरङका स्थानीय तह आगलागीमा ठूलो दूर्घटनाको जोखिममा छन् । जिल्लाका करिब ९० प्रतिशत (१७ मध्ये १५) स्थानीयतहमा आगलागी हुँदा निभाउने वारुण यन्त्र (दमकल) एउटा पनि छैनन् ।
मोरङको सात नगरपालिकासँग नै एउटा पनि दमकल छैन । यसमा बेलबारी, सुनवर्सी, लेटाङ, उर्लाबारी, रंगेली, रतुवामाई र पथरीशनिश्चरे छन् । यस्तै, जहदा, धनपालथान, मिक्लाजुङ, केरावारी, ग्रामथान, कानेपोखरी, बूढीगंगा, कटहरी गाउँपालिकामा पनि बारुण यन्त्र छैनन् । जिल्लाका दुई स्थानीय तह विराटनगर महानगरपालिका र सुन्दर हरैंचा नगरपालिकासँग मात्र बारुणयन्त्र रहेको छ ।
यी स्थानीयतहबासी आगलागी हुँदा अन्य जिल्लाका दमकलमा भर पर्न बाध्य छन् । मोरङ प्रहरी प्रमुख अरुणकुमार बिसीका अनुसार जिल्लाका विभिन्न स्थानमा आगलागी हुँदा निभाउन अन्य जिल्ला दमकल बोलाउनुपर्छ ।
जिल्लामा पछिल्लो एक वर्षमा ६२ स्थानमा आगलागी हुँदा ६४ घर जलेर पूर्णरुपमा नष्ट भए । यस्तै, उद्योग तथा व्यापारिक क्षेत्र गरि सात ठाउँमा आगलागीबाट क्षति पुगेको थियो । यसबाहेक, सामुदायिक विद्यालय र वनमा पनि आगलागीका घटना भएका छन् । आगोमा परेर चार जनाको मृत्यु र तीनजना घाइते भएका थिए । आगलागीबाट २७ चौपाया मरे । समग्रममा आगोले करिब २६ करोड रुपैयाँबराबरको क्षति पुगेको अनुमान छ ।
यो तथ्यले ले मोरङमा आगलागीको दर र जोखिम उच्च देखिएको छ ।





